विज्ञान र विकास सरकारको प्राथमिकतामा छ, ‘प्रधानमन्त्री’
Powered by
riri one
मंसिर २२, खुमलटार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ३४ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘विकासका लागि विज्ञान र अनुसन्धानको क्षेत्रमा लगानी बढाउन र राज्यको तर्फबाट उच्च प्राथमिकता दिन आवश्यक छ । विज्ञान र अनुसन्धानलाई उत्पादनसँग जोडेर जनताको जीवनस्तर बदल्ने संकल्पले मात्रै यसको उपयोगिता प्रमाणित गर्दछ । सरकारले विज्ञान र विकासलाई उच्च प्राथमिकतामा राखेर मुलूकमा आर्थिक समृद्धि हासिल गर्न चाहन्छ ।’
प्रधानमन्त्रीले भन्नुभयो, ‘गत महिना भारत भ्रमणको क्रममा म हरिद्वारको औषधि कम्पनिको निरीक्षणमा गएको थिएँ । त्यहाँ प्रयोग हुने प्रायः जडीबुटी नेपालबाटै लगिँदो रहेछ । त्यसले मलाई अलि गम्भीर पनि बनायो । तर, हामीले आफ्नै जडीबुटी र प्राकृतिक सम्पदाहरुको अनुसन्धान गरेर विज्ञानको विकास गर्न सक्ने हो भने यसले नेपालकै समृद्धिमा कालापलट ल्याउन सकिन्छ भन्ने आत्मविश्वास पनि जाग्यो । अब हामीले हाम्रा सम्पदा हाम्रै विकास र जनताको जीवन बदल्न उपयोग गर्नुपर्दछ ।’ कार्यक्रममा प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जानुको बिकल्प नभएको भन्दै केही दिनभित्र दलीय सहमति जुटेर मुलूक संविधान कार्यान्वयनको रफ्तारमा अघि बढ्ने जानकारी दिनुभयो ।
समारोहमा विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ट योगदान गरेका जामुनबारी सामुदायिक बन उपभोक्ता समूह, झापा, डा. मनोजकुमार यादव, डा. सुरेन्द्रलाल श्रेष्ठ, डा. सन्तोष नेपाल, डा. खेमराज जोशी, डा. सन्तोष दुलाल, डा. उर्मिला प्याकुरेल, डा. रामदेवी तचामो शाह, परिवार स्वास्थ्य महाशाखा नेपाल, रामचन्द्र अधिकारी, डा. सरस्वती आचार्य, बिमला ढकाल, श्यामकुमार पुन, प्रा.डा. टंकनाथ धमला, डा. हरिप्रसाद अर्याल, प्रा.डा. कृष्णदास मानन्धर, प्रा.डा. सिर्जनलाल श्रेष्ठ, डा. तिमिला श्रेष्ठ, गोपालप्रसाद काफ्ले, चन्द्रलेखा कायस्थ, प्रा.डा. रामवृक्ष साहू, प्रा.डा. रामस्वार्थ राय लगायतका संस्था र व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।