सरकार साहित्य, संस्कृतिको उत्थानमा गम्भीर छ, ‘प्रधानमन्त्री’
Powered by
riri one
पौष १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार साहित्य र संस्कृतिको उत्थान र विकासमा गम्भीर रहेको बताउनु भएको छ ।
बुधबार साझा प्रकाशनले काठमाडौंमा आयोजना गरेको स्रष्टा सम्मान तथा पुस्तक बिमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाली साहित्य र संस्कृति बिशाल छ । साहित्य र संस्कृतिको रक्षा र उत्थानले मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ । सरकार नेपाली साहित्य र संस्कृतिको उत्थान र विकासमा गम्भीर छ, म तपाईहरुको साथमा छु ।’
कार्यक्रममा प्रधानमन्त्रीले देशका सरकारी संरचनाहरु धारासायी हुँदै जाने र नीजि क्षेत्रले मात्रै सफलता हासिल गर्ने परिस्थिति आउनुमा गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘नीजि क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिने तर सरकारी संस्थाहरु धारासायी हुँदै जानुमा हाम्रो सोंच र कार्यशैली जिम्मेवार छ । ऐतिहासिक बिरासत बोकेका साझा प्रकाशनजस्ता संस्थाहरुको जगेर्ना गर्न हामी सबै जिम्मेवार भएर लाग्न जरुरी छ ।’
कार्यक्रममा माओवादी नेता एवं सौन्दर्य चिन्तक मोहन वैद्य ‘चैतन्य’, शिक्षामन्त्री धनीराम पौडेल, दीनानाथ शर्मा, संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार माधवप्रसाद घिमिरे, मदनमणि दीक्षित, स्रष्टाहरु प्रा.डा. ताराकान्त पाण्डे, निनु चापागाई लगायतका वक्ताहरुले नेपाली साहित्य र संस्कृतिको संरक्षण र विकासमा साझा प्रकाशनले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरु सत्यमोहन जोशी, माधवप्रसाद घिमिरे, मदनमणि दीक्षितलाई साझा प्रकाशनको तर्फबाट सम्मानित गरिएको थियो भने समालोचक निनु चापागाईद्वारा लिखित पूर्ववाद र सइदेली विचार, डा. ताराकान्त पाण्डेद्वारा लिखित माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र नामक पुस्तकको पनि बिमोचन गरिएको थियो ।