राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA SHASTHI - 21
उक्त भेटवार्तामा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीचको संवाद एकमात्र विकल्प रहेको बताउनुभयो । नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय रहेको उल्लेख गर्दै उहाँले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको पनि बताउनुभयो।
“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका सबै मुलुकका लागि उदाहरण बनेको छ।" सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभयो, “अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन्। रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्ध, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर हामी वार्ता र संवादका माध्यमबाट द्वन्दको समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौं।”
सम्माननीय प्रधानमन्त्रीले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा महत्वपूर्ण भूमिका खेल्दै आएको समेत स्मरण गराउनुभयो।
त्यस क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्र संघको महासभामा अतिकम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाको विषयमा समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघका प्रयासहरुमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । साथै उहाँले विश्व शान्ति तथा निशस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्रसंघले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै संयुक्त राष्ट्रसंघका हरेक कदममा नेपालको साथ रहेको र भविष्यमा पनि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा संयुक्त राष्ट्रसंघका उप-महासचिव नाकामित्सुले परमाणु हतियारले सुसज्जित छिमेकीहरुको बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर संयुक्त राष्ट्रसंघीय निशस्त्रीकरण मामिलाको दक्षिण एशियाली केन्द्रको कार्यालय यहाँ स्थापना भएको बताउँदै नेपालले विगतमा झैं क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा दोश्रो ठूलो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभयो।
उक्त शिष्टाचार भेटका क्रममा संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा तथा परराष्ट्र मन्त्रालयका अधिकारी लगायत उपस्थित हुनुभएको थियो ।