राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA SHASTHI - 21
काठमाडौँ, २४ वैशाख। सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यूले सवारीचालक अनुमतिपत्रको वर्तमान अवस्था तथा त्यसमा देखिएका समस्याहरूका विषयमा यातायात व्यवस्था विभागका अधिकारीहरुबाट जानकारी लिई समस्याको तत्काल समाधान गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभएको छ।
सोमबार दिउँसो यातायात व्यवस्था विभागका महानिर्देशक लगायतलाई आफ्नै कार्यकक्षमा बोलाएर सम्माननीय प्रधानमन्त्रीज्यूले सवारीचालक अनुमतिपत्रको डिजिटल प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिनुभयो।
सवारीचालक अनुमतिपत्रका बारेमा गम्भीर प्रश्नहरू उठेका, सेवाग्राहीले समयमै सेवा नपाएको लगायतका गुनासो आउने गरेका, अपेक्षित रुपमा सवारीचालक अनुमतिपत्र वितरण हुन नसकेको र नक्कली सवारीचालक अनुमतिपत्र वितरणका विषयमा पनि समाचारहरू आएको तर्फ ध्यानाकर्षण गराउनुहुँदै यस्ता समस्याहरू तत्कालै समाधान गर्नुपर्ने बताउनुभयो।
उहाँले विद्यमान प्रणालीलाई अद्यावधिक तथा उन्नत बनाउँदै जानुपर्नेमा जोड दिनुहुँदै उहाँले समस्या समाधानका लागि आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयका लागि ठोस सुझाव पेश गर्नपनि निर्देशन दिनुभयो।
उक्त छलफलमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालज्यू तथा यातायात व्यवस्था विभागका महानिर्देशक श्री उद्धव रिजालज्यू लगायत उपस्थित हुनुहुन्थ्यो।